काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा चौधरी ग्रुपले सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ बराबरको कर तिरेको छ। यो रकम सरकारको कुल राजस्वमा झण्डै दुई प्रतिशत (१.९६ प्रतिशत)   को योगदान हो ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढी छ। आर्थिक वर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको थियो ।

बितेको पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/ ७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

देशको समग्र अर्थतन्त्र सुस्ताएको उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको वर्तमान परिप्रेक्ष्य चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सरकारी स्तरबाटै प्रशंसा हुँदै आएको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको समयमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।