काठमाडौं । जेन्जी आन्दोलनमा देशभरका आठ सुक्खा बन्दरगाहमध्ये सबैभन्दा ठूलो क्षति काँकरभिट्टा सुक्खा बन्दरगाहमा पुगेको पाइएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार त्यसपछि विराटनगर र भैरहवास्थित बन्दरगाहहरूमा पनि उल्लेख्य क्षति भएको छ।
समितिका कार्यकारी निर्देशक आषिश गजुरेलका अनुसार प्राविधिक टोली खटाएर क्षतिको मूल्यांकन सुरु गरिएको छ। अहिले पुनर्निर्माणका काम थालिएको र संरचनागत सुधारका सम्भावनामा अध्ययन भइरहेको उनले बताए।
काँकरभिट्टा बन्दरगाहको गोदाममा सबैभन्दा बढी क्षति भएको छ। आन्दोलनको एक सातापछि पनि मंगलबारसम्म गोदाममा आगो बलिरहेको थियो। गोदाममा घरायसी सामान, सिसा, मदिरा, कागजजन्य सामग्री र चिया रहेका सामानमध्ये केही चोरी भएका र केही जलेर नष्ट भएको पाइएको छ।
त्यसैगरी, मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएको छ। कार्यालयका झ्याल फुटाइएको, क्याबिन क्षतिग्रस्त भएको र प्रमुख बस्ने कोठा पूरै जलेको गजुरेलले जानकारी दिए। प्राविधिक परीक्षणपछि भवनबारे निर्णय हुने जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त हुँदा त्यहाँबाट व्यापार सुचारु हुन सकेको छैन। विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयमा आंशिक क्षति पुगेको छ भने प्रमुख भन्सार कार्यालय वीरगञ्ज भने सुरक्षित रहेकाले सेवा निरन्तर जारी छ।
२६ भदौदेखि क्षति नभएका भन्सार कार्यालयमार्फत वैदेशिक व्यापार नियमित भइसकेको मन्त्रालयले जनाएको छ।
यस्तै, आन्तरिक राजस्व विभाग मातहत दमक, इटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरास्थित कार्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका कार्यालयमा भने आंशिक क्षति पुगेको छ।
काठमाडौं उपत्यकाका तीन र बाहिरका चार गरी सात वटा कोष तथा नियन्त्रक कार्यालयमा पनि भौतिक क्षति भएको मन्त्रालयले जनाएको छ।







