काठमाडौँ। जेन्जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, चितवनमा सरकारी कार्यालय, व्यक्तिका घर, राजनीतिक दलका कार्यालय र व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड सम्बन्धी ९३ जनाविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ।
प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, जिल्लाभरका ६२ वटा सरकारी कार्यालय, १० वटा व्यक्तिगत भवन, ९ वटा राजनीतिक दलरसञ्चार माध्यम र ३ वटा व्यवसायिक स्थलमा आगजनी र तोडफोड भएको थियो। यी घटनामा संलग्न व्यक्तिमाथि हालसम्म ८४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको छ।
चितवन प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयसँग समन्वयमा ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, २ चोरी र १ लागु औषधसम्बन्धी मुद्दा अदालतमा दर्ता गरेको जनाएको छ। तीमध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। एसपी पुरीका अनुसार, अदालतमा हाजिर गराइएका ५३ मध्ये ४१ जनालाई धरौटीमा रिहा गरिएको छ भने १२ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।
थुनामा पठाइएका मध्ये ५ जनालाई आपराधिक उपद्रो, २ जनालाई चोरी र १ जनालाई लागु औषध मुद्दामा थुनामा राखिएको छ। यीमध्ये ७ जना यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेका व्यक्ति हुन्।
अभियुक्तहरूमाथि थुनामा पठाउने वा धरौटी दिने निर्णयको आधारमा सरकारी कार्यालय, राजनीतिक दल र व्यक्तिहरूले क्षतिपूर्ति विवरणसहित निवेदन पेश गरेका थिए। कार्की आयोगको प्रतिवेदन अनुसार भदौ २४ गतेका घटनामा सरकारी कार्यालय बाहेक ६ वटा राजनीतिक दलको कार्यालय र ५१ वटा व्यक्तिगत घरमा आगजनी तथा तोडफोड भएको देखिएको छ।
समग्रमा, ८६ वटा चार पाङ्ग्रे र १६६ वटा दुई पाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ। भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा जलेको छ। जिल्ला भरि भएको तोडफोड र आगजनीबाट कुल १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको क्षति भएको रिपोर्ट गरिएको छ। विशेष रूपमा भाटभटेनी सुपरमार्केटले ६९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बताइएको छ।







