काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको सोही अवधिको २५ करोड १९ लाख रुपैयाँको तुलनामा करिब ४७.१३ प्रतिशतले घटेको हो।
नाफा घटे पनि कम्पनीको व्यवसाय विस्तार भने उल्लेखनीय रूपमा बढेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १४०.९३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि सामान्य रूपमा बढ्दै २ अर्ब ९ करोडबाट २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
यता खर्चतर्फ पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्ष १ अर्ब ७३ करोड रुपैयाँ रहेको कुल खर्च बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, दाबी भुक्तानी पनि १ अर्ब १४ करोडबाट बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब सिर्जना गरेको देखिन्छ।
तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोष २२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ १८ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय सूचकहरू हेर्दा, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ।







