काठमाडौँ । अखिल नेपाल सुकुमबासी संघले देशभरका सुकुमबासीहरूको अधिकार र न्यायका लागि पूर्व–पश्चिम राजमार्ग ठप्प पार्ने घोषणा गरेको छ । संघले भोलि वैशाख ३१ गते बिहान ५ बजेदेखि १० बजेसम्म ५ घण्टा चक्काजाम गर्ने जानकारी दिएको हो ।
संघले राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सुकुमबासी बस्तीहरूमा भइरहेको डोजर कारबाही र विस्थापनको विरोधस्वरूप आन्दोलन गर्न लागिएको जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नहेन्द्र खड्काले यो कार्यक्रम सुकुमबासीहरूको साझा अधिकारका लागि भएको बताउँदै सबैलाई साथ दिन आग्रह गरेका छन् ।
त्यस्तै संघका अध्यक्ष अमर परियारले राज्यसँग जमिन व्यवस्थापनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने माग राखेका छन् । संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै विरोध व्यक्त गरेका छन् ।
विभिन्न राजनीतिक दल निकट सुकुमबासी संगठनहरूले समेत आन्दोलनलाई समर्थन जनाएका छन् । साथै भोलि माइतीघर मण्डलामा संयुक्त प्रदर्शनसमेत गर्ने तयारी रहेको संघले जनाएको छ ।







