काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संसद र नागरिकलाई हेपेको भन्दै चेतावनी दिएका छन् । उनले आफ्नै पार्टीको बहुमत भएको संसद्प्रति विश्वास नभएको बताउँदै सरकारले सदन र जनतालाई हेपेको प्रतिक्रिया दिएका हुन् ।
सभापति थापाले रौतहटमा पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै भने, ‘प्रतिनिधिसभाको बैठकको मिति तोकेर आह्वान भइसके पछाडि फेरि कुनै सूचना नदिई बैठक स्थगित गरियो । यो संसद् र नागरिकलाई हेपेको हो । संसद्लाई किन हेपेको हो भने संसद्प्रति विश्वासमा राखेर आफ्नो बहुमत भएको संसद्प्रति सरकारको विश्वास छैन । यसकारण संसद् छँदै अध्यादेश ल्याइयो ।’
प्रधानमन्त्रीले संवैधानिक परिषद्मा आफ्नो स्वार्थअनूकुल बनाउन चलखेल गर्ने प्रयास गरिरहेको बताउँदै विरोध जनाएका छन् । ‘यस्तो प्रयास पहिलाका प्रधानमन्त्रीहरूले पनि गर्नुभएको थियो । यसमा हामीले सधैँभरि असहमति प्रकट ग¥यौँ । अहिले यस्तो अनुकूलता भएको बेलामा सरकारले संवैधानिक परिषद्मा प्रधानमन्त्रीको हैसियतबाट ‘म अहिलेको नियुक्तिहरू यसरी गर्न चाहन्छु, म अदालतका सन्दर्भमा यसरी नियुक्ति गर्न चाहन्छु, म अरू संस्थाहरूमा नियुक्ति यसरी गर्न चाहन्छु’ भनेर भन्दै गर्दा हामी प्रमुख प्रतिपक्ष दल हौँ ।’
उनले आफूहरू पनि संवैधानिक परिषद्मा नियुक्ति गर्ने कुरामा व्यापक फेरबदल गर्नुपर्छ भनेर लागेको बताए । उनले कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले हेपाहा प्रवृत्ति स्वीकार नगर्ने चेतावनी दिए ।
उनले सबैलाई पेलेर जाने सरकारको सोचले अप्ठ्यारोमा पार्ने भन्दै सच्याएर ठिक बाटोमा लिएर जान सुझाव दिए ।







