काठमाडौं । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका हुन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ भने दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ । मार्चमा प्रिमनसुन महिना हो ।

मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक आएका थिए । त्यसो हुनुमा नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या अधिक थियो । मनसुनका बेला भने आगमन केही कम हुने गर्छ ।

मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७ सय ३ पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या अझ बढेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ । नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय नागरिकलाई भने पर्यटकको गन्तिमा राखिदैन ।