काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले पुस मसान्तसम्म १४ करोड बढी खुद नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३०.४६ प्रतिशतले कम हो।

अघिल्लो आवको सोही अवधिमा बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन नाफा ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८.१५ रुपैयाँ ९वार्षिक०, प्रतिसेयर नेटवर्थ भने १८१.३९ रुपैयाँ कायम भएको छ ।